झापाको कमल गाउँपालिकामा एम.एन.ओ.को चुनावी अभियान तीव्ररुपमा

Gurkhas Online Tv
Gurkhas Online Tv२९ भदौ २०७९, बुधवार

कार्यक्रमको क्रममा लिइएको तस्बिर

सागर मंगोल,झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा घरदैलो, अन्तरक्रिया,प्रशिक्षण कार्यक्रमसंगै चुनावी अभियानलाई तीव्र बनाउदै आइरहेको छ । झापाको क्षेत्र नं. ५ मा पर्ने उक्त क्षेत्रबाट प्रतिनिधि सभामा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचेले उम्मेदवारी दिदै हुनुहुन्छ । झापाका चुनावी क्षेत्रहरु मध्ये अत्यन्तै चर्चामा रहने यस क्षेत्रमा पछिल्लो समय मंगोल नेशनल अर्गनाइजेशनको बलियो उपस्थिति रहदै आएको छ । 

यसै बिच १४ सेप्टेम्बर बुधबारका दिन कमल-५ मा मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ. कमल गाउँ सभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य मेलिना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु झापा क्षेत्र नं.५ का समानुपातिक उम्मेदवार गजेन्द्र मादेन, प्रदेश सभा 'ख' का प्रत्यक्ष उमेद्वार रामलाल राई, झापा क्षेत्र नं. ४ प्रदेश सभा 'क' का प्रत्यक्ष उम्मेदवार भरत राई, जिल्ला अध्यक्ष बानिरा मेचेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायलाई झापा जिल्ला सचिव सागर दर्जीले मानव उत्पत्ती, मूलबासी मंगोलहरु माथी भएको नितिगत र संवैधानिक विभेदहरुको बारेमा प्रष्ट्याउँदै मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेलिना तामाङले नेपालको राजनीती कुनै पनि राजनैतिक सिद्धान्तको नभएर नेपालमा रहेका 
खस आर्यहरुद्वारा यहाँका मूलबासी मंगोलहरु माथी भएको नश्लीय विभेदको राजनीती भएको कुरा अवगत गराउँदै समानता र न्यायपूर्ण समाजको निर्माण गर्दै मुलुकको दिगो विकासको निमित्त मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा आगामी निर्वाचनमा ढुक्क भएर मतदान गर्न आव्हान गर्नुभयो । 

कार्यक्रममा जिल्ला सदस्य प्रेम लिम्बूको पनि आतिथ्यता रहेको थियो । कमल-५ वडा सभा अध्यक्ष अजय राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम कमल गाउँसभा सचिव विजयहाङ लिम्बूले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया