एम.एन.ओ. केन्द्रिय सभाको नियमित बैठक सम्पन्न महाधिवेशन मंसिरमा हुने

Gurkhas Online Tv
Gurkhas Online Tv७ भदौ २०८०, बिहिवार

बैठकका क्रममा खिचिएकाे तस्बिर

सागर मंगाेल,झापा/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाको नियमित बैठक मोरङको बेलबारी स्थित बेलबारी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अगष्ट २१,२२,२३ अर्थात भदौ ४,५,६ गतेका दिन सम्पन्न भएको तीन दिने केन्द्रिय सभाको नियमित बैठकको सभाध्यक्षता संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले गर्नुभएको थियो । उक्त केन्द्रिय सभाको मिटिङमा देशैभरीका संगठनका केन्द्रिय सदस्यहरु लगायत विभिन्न प्रान्तीय सभाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

बैठकबाट संगठनको विधान अनुरुप केन्द्रिय सभाको पाँच वर्षे कार्यकाल सकिएकाले राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गर्दै केन्द्रिय सभा भंग गरी छैटौं राष्ट्रिय महाधिवेधन मूल आयोजक सभा गठन गरिएको छ । संगठनका निवर्तमान केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बूको संयोजकत्वमा ६६ सदस्यीय महाधिवेशन मूल आयोजक सभा गठन गरिएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः रिन्छेन तामाङ, धनप्रकाश खिम्दुङ, सान बहादुर मेचे र सुरज फोम्बो रहनुभएको छ । आयोजक सभाको सदस्यहरुमा सम्पूर्ण केन्द्रिय सदस्य, सल्लाहकार र वैकल्पिक केन्द्रिय सदस्यहरु रहेका छ्न । बैठक सम्पन्न भएसंगै आयोजक सभाले पत्रकार सम्मेलन गर्दै संगठनको छैंटौ राष्ट्रिय महाधिवेशन मंसिर ९,१०,११/ २५,२६,२७ नोभेम्बरमा मोरङमा हुने जानकारी गराएको छ ।

केन्द्रिय सभाको बैठकले संगठनको विधान संशोधन मस्यौदा समिती गठन गरेको छ जसको संयोजकमा निवर्तमान केन्द्रिय सचिव सन्तोष तामाङ, सदस्यहरु गणेश चाम्लिङ र श्याम लिम्बू रहनुभएको छ । त्यसैगरी महाधिवेशन अवधि सम्मका लागि प्रवास समन्वय सभा गठन गरेको छ जसको संयोजकमा निवर्तमान प्रवक्ता दिलिप धिमाल, सदस्यहरु राज कुमार गुरुङ र धनमाया तामाङ रहनुभएको छ ।

संगठनको केन्द्रिय सभाको नियमित बैठकले मूलसचिव सहित १० जना केन्द्रिय सदस्यहरुलाई अनुशासनको कारवाही गरेको छ भने लूम्बिनी र गण्डकी प्रान्तीय सभा विघटन गरे संगै लुम्बिनी प्रान्तीय सभाको संयोजकमा घनश्याम चौधारी र गण्डकी प्रान्तीय सभाको संयोजकमा लम्जुङ जिल्ला पूर्व अध्यक्ष विकास गुरुङलाई चयन गरेको छ ।

केन्द्रिय बैठकलाई सम्बोधन गर्दै प्रेसिडेन्ट बुद्धलाल मेचेले संगठनले ४६,५१,५६,६४,७०,७४,७९ गरेर सात वटा निर्वाचन लडिसकेको र अबको आठौं निर्वाचन मंगोल नेशनल अर्गनाइजेशनको जितको निर्वाचन रहेको कुरा बताउँदै सोही अनुरुप तयार हुन संगठनका सम्पूर्ण केन्द्रिय सदस्य तथा कार्यकर्तालाई तीव्र रुपमा संगठन विस्तारमा लाग्न निर्देशन दिनुभयो । साथै अब मंगोल नेशनल अर्गनाइजेशनका नेताहरु समग्र नेपाली जनताहरुको नेता बन्ने समय आएकाले जातीगत, धार्मिकतावादी, संस्कारगत सोचभन्दा माथी उठनुपर्ने कुरा बताउनुभयो । बैठकमा मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन र केन्द्रिय सभाको ५ वर्षे कार्यकाल अवधीको बारेमा सहभागी केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो भने बैठकलाई सचिव सन्तोष तामाङले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया